एक जमाना थियो । पद्म कन्या क्याम्पसलाई पद्म कन्या कलेज भनिन्थ्यो र त्यसको पढाइ अहिलेको शङ्करदेव क्याम्पसमा हुने गर्दथ्यो । प्रिन्सिपल हुनुहुन्थ्यो अङ्गुरबाबा जोशी । कलेजका छात्राको निर्धारित पोसाक थियो । गेरुआ रङ्गको साडी र प्राध्यापक राष्ट्रिय पोसाकमा कक्षामा पढाउने गर्दथे । महिला प्राध्यापकका लागि पनि गेरुआ रङ्गको साडी नै नियमित रूपमा निर्धारित थियो । ठट्टाको भाषामा यसलाई 'सन्यासिनीको सुन्दर कलेज' भनिन्थ्यो । अङ्गुरबाबा जोशीको अनुशासन प्रियता प्रशंसनीय थियो । हरेक शुक्रबार कलेजमा नैतिक प्रवचनको कार्यक्रम नियमित रूपमा हुने गर्दथ्यो । स्टाफ मिटिङ पनि प्रत्येक महिनाको एक दिन निर्धारित गरिएको थियो । तत्कालीन भारतीय राजदूत राजबहादुरकी छोरी मेरी छात्रा थिइन् । कहिले काहीँ राजदूत महोदयसँग भेटघाट हुन्थ्यो । उनी भन्ने गर्दथे- नेपाल र भारतबीच संसारको कुनै पनि शक्तिले हिमालय खडा गर्न सक्दैन ।(हिन्दीबाट अनुवाद)
कलेजका भाइस प्रिन्सिपल थिए इन्द्रराज मिश्र । उनी पछि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सांस्कृतिक सहचारी भएर गएका थिए । म चार वर्ष पद्म कन्या कलेजमा पढाएपछि कोलम्बो योजनाअन्तर्गत दिल्ली विश्वविद्यालयमा विद्यावारिधिको उपाधि हासिल गर्नका लागि गएँ । सम्भवतः २४ अक्टुबर सन् १९७१ संयुक्त राष्ट्र सङ्घ दिवस थियो । म हवाइजहाजबाट काठमाडौं, बनारसमा विमान अवतरण गर्दै आगरा हुँदै दिल्ली पुगेँ । इन्द्रराज मिश्रले मलाई आफ्नो गाडीमा हालेर दिल्ली विश्वविद्यालय परिसरमा पुर्याई दिनुभयो र सम्बन्धित पदाधिकारीसित परिचय पनि गराइदिनुभयो । त्यसैताका भारत र पाकिस्तान बीच लडाइँ सुरु भयो । दिनहुँ साइरन बज्नु र ब्लैक आउट हुनु नियमित प्रक्रिया नै भयो । म भयग्रस्त भएँ । एक दिन म इन्द्रराज मिश्रलाई दूतावासमा भेटेर मलाई काठमाडौं फर्काइ दिने कुरा गरेँ । उहाँले आश्वासन दिनुभयो । केही हुँदैन बस्नुस् भन्नुभयो तर मभित्रै मनबाट भयाक्रान्त थिएँ ।
मेरो दिल्ली प्रवासकै क्रममा डा. मोहन लोहनी संयुक्त राष्ट्र सङ्घको बैठकमा भाग लिएर प्रतिनिधिमण्डलसहित काठमाडौं र्फकने क्रममा दिल्ली आइपुग्नुभयो । उक्त प्रतिनिधिमण्डलको स्वागतमा दिल्लीस्थित अशोका होटलमा रात्रिभोजको व्यवस्था दूतावासले गरेको थियो । म पनि आमन्त्रित थिएँ । मेरो भेट डा. लोहनीसँग भयो । उहाँ पनि पद्म कन्या कलेजमा पढाउनु हुन्थ्यो । पद्म कन्या कलेजमा पढाउनेमा डा. तारानाथ शर्मा, शिवगोपाल रिसाल, तुलसी दिवस र अम्बिकाप्रसाद अधिकारी आदि लेखन कार्यमा सक्रिय हुनुहुन्थ्यो । त्यसबखत गोरखापत्र दैनिक मात्र प्रकाशित हुन्थ्यो । प्रायःजसो शनिवाशरीय परिशिष्टाङ्कमा हामीहरूको रचना प्रकाशित हुने गर्दथ्यो । यस प्रकाशनबाट हामी धेरै आत्मीय सम्बन्धमा आवद्ध हुन्थ्यौं । पछि राइजिङ नेपाल अङ्ग्रेजी दैनिक पनि प्रकाशित हुन थाल्यो । त्यसमा पनि हामीहरूको रचना छापिन्थ्यो । केही वर्षपछि मधुपर्क साहित्यिक मासिकको प्रकाशन पनि सुरु भयो र 'सरकारी पत्रिका' भएकोले लेख रचनाको समुचित पारिश्रमिक पनि पाइन्थ्यो । दिल्ली विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि हासिल गरेपछि मेरो दिल्ली आवतजावतको क्रम पनि बढ्दै गयो । मेरो विद्यावारिधिको मौखिक परीक्षामा डा. शिवमङ्गल सिंह सुमनलाई बाहृय परीक्षकको रूपमा आमन्त्रित गरिएको थियो । उहाँ काठमाडौंस्थित भारतीय दूतावासमा साँस्कृतिक सहचारी पनि भइसकेको नाताले उहाँलाई बोलाइएको थियो । उहाँ हिन्दीका विशिष्ट कवि पनि हुनुहुन्थ्यो र मेरो विद्यावारिधिको विषय पनि थियो- 'हिन्दी और नेपाली समसामयिक कविता ः तुलनात्मक अध्ययन' । दिल्ली प्रवासकालमा मेरो घनिष्ठ परिचय थियो हिन्दीका नामुद साहित्यकारहरूसँग जसमा प्रसिद्ध समीक्षक डा. नगेन्द्र, नाटककार लक्ष्मीनारायण लाल पनि हुनुहुन्थ्यो । एक दिन म, डा. नगेन्द्र र डा. लाल सँगै बिहानको खाजा खाँदै थियौं । मैले केही गुनासो गरें । डा. लालले भन्नुभयो-"गुनासोबाट जीवन सुरू गर्नु हुन्न (हिन्दीबाट अनुवाद) ।" मलाई धेरै घत लाग्यो । एकचोटि दिल्ली जाँदा म दूतावासको नजिकको अतिथि गृह 'गोमती' गेस्ट हाउसमा बास बसेको थिएँ । म तत्कालीन राजदूत वेदानन्द झालाई भेट्न गएँ । उहाँले भेट त दिनुभयो तर मसँग नेपालीमा कुराकानी गर्न लाग्नुभयो । म चाहिँ मैथिलीमा बोल्ने उहाँ चाहिँ नेपालीमा बोल्ने । मलाई नराम्रो लाग्नु स्वाभाविक थियो तर म चाहिँ मैथिलीमा बोल्दथेँ । अन्त्यमा लाचार भएर मसँग मैथिली भाषामै कुराकानी गर्न लाग्नुभयो । मैले उहाँलाई वाध्य गराएँ किनभने उहाँको मातृभाषा पनि मैथिली नै थियो । अर्कोचोटि म दिल्ली जाँदा राजा महेन्द्रको सवारी दूतावासमा भएको थियो । दूतावासले आफ्नै परिसरमा रात्रिभोजको आयोजना गरेको थियो । त्यसमा भारतका ठूला-ठूला नेता, सरकारी अफिसर र दिल्लीस्थित नेपालीको सहभागिता थियो । डा. ईश्वर बराल त्यसताका जवाहरलाल विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । उहाँ उक्त पार्टीमा श्रीमतीसहित आउनुभएको थियो र श्रीमतीको परिचय 'मेरी धर्मपत्नी' भनेर गराउँदै हुनुहुन्थ्यो । एक दिन म उहाँलाई भेट्न बाराखम्बारोडस्थित स्कुल अफ इन्टरनेसनल स्टडिजमा गएँ । उहाँ मेरो सह-निर्देशक पनि हुनुहुन्थ्यो । उहाँले मेरो परिचय डा. विमलप्रसादसँग गराउनुभयो । उहाँ प्रजातन्त्र पुनस्र्थापनापछि राजदूत भएर काठमाडौँ आउनुभयो । डा. ईश्वर बरालले आफ्नी छात्रा डा. सीता श्रेष्ठसँग पनि परिचय गराउनुभयो । उहाँ डा. सीता कौशिक भएर दिल्ली विश्वविद्यालयको कुनै कलेजमा प्राध्यापक हुनुहुन्छ । दिल्ली मेरा लागि 'दूर' थिएन । यदाकदा अहिले पनि जाने गर्दछु । विशेष गरेर स्वास्थ्य परीक्षणका लागि दिल्लीस्थित नेपाली दूतावाससँग मेरो नजिकको सम्बन्ध कहिले पनि घनिष्ठ हुन सकेन । दिल्लीमा जाँदा अहिले पनि हिन्दीका केही वरिष्ठ साहित्यकारसँग भेट्ने गर्दछु । जस्तो, डा. गङ्गाप्रसाद विमल, प्रयाग शुक्ल, कुँवरनारायण, अजितकुमार, स्नेहमयी चौधरी, डा. सुरेश ढिङ्गरा, रेखा भटनागर र अशोक चक्रधर, डा. रामदरश मिश्र, डा. निर्मला जैन, प्रो. नित्यानन्द तिवारी आदि । 'दिनमान' का प्रधान सम्पादक रघुवीर सहाय र सर्वेश्वर दयाल सक्सेना, सम्पादक राजेन्द्र अवस्थी र मृणालिनी पाण्डेसँग मेरो विशेष परिचय थियो ।
