"यह रिश्ता क्या कहलाता है" एल.ई.डी.-टी.भी. मा हिन्दी डब्ड सिरिअल चलिरहेको थियो। तुलसीपुर डिलक्स ८६ न. को बसको सिट न. ५ करिब १२ घण्टाको लागि मेरो थियो। छेउको ४ न. मा एउटा विद्द्यार्थी थियो, ए.जी. पढ्न चितवन जानुपर्ने रहेछ। हाम्रो सामान्य परिचय पश्चात हामी धेरै मोबाइलमै व्यस्त रहयौं। अघिल्लो सिटमा एकजना भलाद्मी परेछन् , गुरु रहेछन्। लालमटिया टेक्निकल कलेज दाङका प्रोफेसर रहेछन्। ठुलो निधार , दुवै कान अर्ध सेतो केशले ढाके तापनि तालुमा दुई चार वटा सेतो रौँ बाहेक केही थिएन। यसो हेर्दा अब्बल व्यक्ति देखिन्थे। उनको छेउको सिटमा एकजना लेडी परिछन्, उनी बस गुडेको केही क्षणपछि कलंकीबाट चढिन्। संयोगवस उनी पनि शिक्षिका रहिछन्-श्री गुरु जजुर उच्च मा. वि. रक्षाचौर दाङ कि। ठूला ठूला आँखा , लामो कपाल, मोटी - डल्ली ... छुची देखिन्थिन्। "खोइ अल्लि उता सर्नुस्!" झ्याल तिरको सिट रहेछ उनको, अर्थात् ठीक मेरो अगाडिको सिट। गुरुले घुंडा खुम्च्याए, उनि सिटमा बसिन्। एकछिनको सन्नाटा पछि उनि के i-pad तिर आँखा लगाउन खोज्दै थिइन् , गुरुले प्वाक्क सोधी हाले - नाम के पर्यो हजुर? 'संजीवनी' कडा उत्तर आयो। पूरा नाम नै त्यही हो ? 'गुरु को जिज्ञासा' , सुश्री संजीवनी : अरु केही…….?प्रतिउत्तर! गुरु को मनले के सोच्यो कुन्नि , लाग्थ्यो उत्तर सन्तोषजनक थिएन। करिब ७ लाख घण्टा हाम्रो अपेक्षित आयु मध्ये १२ घण्टा त हामी संगै बिताउदै छौं नि त, एक आपसमा जान्न त जरुरि नै छ त , कसो? गुरु ले व्यंग्य गरे। उनि कड्कीइन् -"हजुर ले मेरो जात सोध्नुभएको होला !" सृष्टि मा केवल दुइ जात छन्। महिला र पुरुष। यसका अलावा तपाई जस्तो गुरुले भौतिक-जातको कुरा गर्नु भएको हो भने यो पनि सुन्नुस्! “ हामी छोरी मान्छेहरुको जात नै के हुन्छ र। म शाक्यकि छोरी, भोलि बाहुनसंग बिहे होला, अर्थात् छेत्री, नेवार, मानौं लिम्बु संग बिहे होला। मेरो नाम “संजीवनी शाक्य लिम्बु” भयो रे ल, अनि मेरो सन्तानहरुले आमाको नाम संजीवनी शाक्य लिम्बु लेख्छन् त? अनि मेरो सन्तानले म फलानी आमाको छोरा / छोरी ..…....शाक्य लिम्बु लेख्छन् त। जसले लग्यो त्यही जात । अब त बुझ्नुभयो होला मेरो पुरा नाम ! कुरा कटु यथार्थ थियो। भन्न खोजेको कुरा त यहि नै थियो, "हामी कसम संगै नाता जोड्दछौं, आमा भएर बाच्दछौँ , भाग्य विधाता भएर बिदा हुन्छौँ, फरक यत्ति हो बुझ्नेहरुले हामीलाई विभिन्न रुपमा बुझ्दछन।" मैले उनलाई म्याक्सिम गोर्कीको “आमा” उपन्यासमा पाभेलकी आमासंग तुलना गरें। विचार क्रान्तिकारी थियो ।कहिले काँही बुद्दिजीवीको पनि जिब्रोले धोका खादो रहेछ। १००% पर्फेक्ट त सायदै होला कोही। गुरुको तालु सुक्यो, दुइ चार वटा बाकी बचेका रौँ हरु पनि हराएछन। लाग्थ्यो कुनै मूभीको रिहर्शल हुँदैछ। छेउ तिरको एउटा तराईबासी युबक भन्दै थियो - " क्या मेडम इतनी बड़ी बात इतनी आसानी से कहदिया।" बसको गति द्रूत थियो, बाहिरको दृश्य झिसमिस हुँदै बत्तिहरु झलक्क झल्कन्थ्यो। यात्रुहरुले टमक्क भरिएको बस भित्र आधा जसो सबैजना निदाइसकेका थिए। गुरुले एक्सक्युज मी भने, अगाडी को झ्याल खोले, चपाइएका पानका बाँकि कुड्काहरु थुके। उनको त्यो घिन लाग्दो थुकाई, मैले त्यति वास्ता गरिन। कुरिनटार आयो , बसको बेजोडको गति रोकियो, " एक्कै छिन ल , मैले एउटा पार्सल रिसिभ गर्नुपर्ने छ"- गुरुको अनुरोध। एउटी बृद्ध महिलाले झ्यालबाटै भेट गरिन्, सानो पोको हात पारिन्, निहुरेर ढोक गरिन्, गुरुले ढोक फर्काउदै थिए..... बस मालिक डि. बि. ओली कराए- जाऔं जाऔं !, बृद्ध महिलाले ढोक गरेर उठ्दा बस पाँच सय मीटर पर पुगिसकेको थियो। झिसमिसे अध्यारोमा पनि अल्लि पर झलमल्ल एउटा स्विमिङ्ग पूल देखियो, उज्यालो थियो, बिदेसीहरु उफ्रिदै पोखरीमा हाम फालिरहेका थिए, मेरो मानसपटलमा बल्याबस्था झल्कियो, गोठिखोलाको त्यो नहरमा वसन्त मीत्जु र बिरु संगै मूढाको घोडा बनाएर पुल भन्दा तल सम्म बग्दै गएको अनि ठुलाखालीको धमिलो पानीमा उल्टो डाइप हानेको…… ... ...!!
वसन्त बिष्ट तुलसीपुर-४ दाङ मोबाइल: +९७७ ९८०८९६८६५५ इमेल: basantbista1@gmail.com
