केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ जतिसुकै बढे पनि के लाग्यो र, बिरामीको सङ्ख्या बेकार स्नातकझैँ दिन दोब्बर रात चौबर बढेको छ, छ ।
नपत्याए नि:शुल्क अस्पतालहरूमा हेर्न जानोस् कक्षामा मानौँ एउटा भव्य प्रोसेसन ने चलेको हुन्छ । तै हाम्रा कतिपय डाक्टरसाहेबहरु स्टेथोस्कोप सुघाउनासाथ रोगको गन्ध पाइहाल्नुहुन्छ र मात्रै हो, नत्र गयाका पण्डाले श्राद्ध गराएझैँ आएजति बिरामीलाई लस्करै राखी आफ्नोआफ्नो रोग सम्झेर मम भन्नोस् भनी सामूहिक जाँच गर्नुपर्ला भनेजस्तो भइसकेको छ । यसै त टेलिफोनको कल आयो कि दमकलझैँ कुद्नुपर्ने डाक्टरी पेसा, त्यसमाथि टोलटोलमा क्लिनिकको साइनबोर्ड झुन्डयाएर प्रतीक्षारत औषधिपसल । यो असल कि उ असल ? सबभन्दा राम्रो आफ्नै बिरामी- पसल । अब तपाईं नै भन्नोस्, यस्तो बेफुर्सदीको अवस्थामा डाक्टरसाहेबहरुबाट नयाँनयाँ रोगको रिसर्च कसरी होला ?
