~काठमाडौ, कार्तिक १९
मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो । उहाँले पढाउनसकेपछि आफूले सारेको उहाँको नाटक देखाएँ । यसो हेर्नुभयो, अक्षर त साह्रै राम्रो रहेछ । यस्तो अक्षर लेख्ने मान्छे म खोजिरहेको थिएँ, भन्नुभयो । अनि के खोज्छस् कानो आँखो भनेजस्तो भयो मलाई । म सारिहाल्छु नि भनेँ । मेरो अक्षरको नाताले उहाँसँग घनिष्टता भयो । अक्षरको पनि विशेषता हुँदोरहेछ । त्यसैले उहाँको संगतमा पर्न पाएँ । शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहानजस्ता थुप्रै कृतिहरू मैले साफी गरेको हुँ । देवकोटाजीमा पूर्वीय संस्कार भए पनि उहाँले लेखनमा पश्चिमी शैली ज्यादा अपनाउनुभयो । त्यसो गरेर आफ्नो देशलाई बौद्धिक रापले सिँगार्न लाग्नुभयो । विभिन्न जात र वर्गको उत्थानका लागि पनि उहाँले साहित्य रच्नुभयो । मुनामदनमा भोटको कुरा, म्हेन्दोमा तामाङको कुरा छ । धेरै वर्ग, जातिहरू उहाँका कृतिमा आएका छन् ।
पछि उहाँले नै मलाई भाषाअनुवाद परिषदमा जागिर पनि खुवाउनुभो । २००६ सालसम्म म उहाँको संगतमा परेँ । भाषाअनुवाद परिषदमा धेरै विद्वान, समाजसुधारकहरू भेला हुँदारहेछन् । इतिहास शिरोमणि बाबुराम आचार्य, पूर्णप्रसाद ब्राह्मण, रूद्रराज पाण्डेजस्ता उतिबेलाका नाम कमाएका विद्वानहरू त्यहाँ जम्मा हुन्थे । एककिसिमले जागरणको अखडा बनेको थियो परिषद । नाम भाषाअनुवाद भए पनि काम कृति निर्माणजस्तो भएको थियो । देवकोटाले महाकाव्य लेख्नुभयो, लक्ष्मी निबन्ध संग्रह लेख्नुभयो । बाबुराम आचार्यले इतिहास उतार्नुभयो । गोपालप्रसाद रिमाल पछि आउनुभयो । नाटक लेख्नुभयो । उहाँहरूको संगतले मैले पनि लेखेर देखाउन थालेँ । हामी संवेदनशील छौं भने प्रभावशाली व्यक्तित्वको गुण हामीमा पनि अज्ञात रूपले सर्दोरहेछ । देवकोटा र अरू लेखक विद्वानहरूको संगतले म पनि लेखक बनेँ । नाटक लेखेँ, कविताहरू लेखेँ । र सुधारको चेतले उत्प्रेरित बनेँ ।
.jpg)
मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।