हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।
पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।
कोठे साँघु, बजारको झिलिमिली, काला उखू, सुन्तला
दोस्रो अङ्कुरमा खचाखच भये ज्यादै मिठा शीतला ।
पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तला
त्यो संझी खुशिले रमाउँछ यहाँ यद्यापि मेरो गला ।।
तेस्रो अङ्कुरमा उपस्थित भयो अर्घौं तथा अर्चले
पुर्खाको जसमा थियो जस ठुलो प्रख्यात पाण्डित्यले ।
चौथोमा उभियो पवित्र खरको छानू भयेको घर
आमाको मृदु लालना सुख जहाँ लिन्थं म लोकोत्तर ।।
