चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।
हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।
