सहर भित्र ...
अभिजात्य यौवनहरु
डिस्कोथेक, बार र नाइट क्लबमा
पारदर्शी, अल्प वस्त्रमा उदांगो भएर
कुन सभ्यताको देखासिकी मै व्यस्त छन्
सिगरेटको धुवाँमा रुम्मलीएर
व्हिस्किको ग्लासमा पोखिएर !
सहर भित्र ...
नवजात यौवनहरु
कुनै पार्लरमा शोकेस सजाएर
कतै फूटपाथमा शृंगार देखाएर
आफुहरुलाई व्यस्त राख्न संधैं व्यस्त छन्
कोहि बाध्यताको वस्त्रमा छोपिएर
केहि रहरको अभिलाषामा बाँधिएर !
सहर भित्र ... सहर भित्र ... सहर भित्र ...
सन्ध्याकालीन जिन्दगिहरु
कुनै पाटी पौवामा फालिएर
कतै वृद्राशममा कोचिएर
जीवनका बाँकी दिनहरु गन्न व्यस्त छन्
कोहि समाजमा नितान्त एक्लिएर
कोहि आफ्नै परिवारमा न अटीएर !
धेरै जसो जिन्दगिहरु,
सपनाहरु, भोगाइहरु,
रहरहरु, बाध्यताहरू,
दुखहरु, पीडाहरु
बिहान सखारै देखि
ओहर दोहर गरिरहन्छन्
राती अबेर सम्म, दिन दिनै !
हाँसोहरु, खुशीहरु
उमंगहरु, उत्साहहरु
चेतनाहरु, विश्वासहरु
श्रद्दाहरु, आस्थाहरु
आक्कल झुक्कल मात्रै भेटिन्छन्
हाँसोहरु ठूला महलमा मात्र गुन्जिएर
खुशीहरु आलिशान घरमा मात्र थुनिएर !
चेतना, विश्वासहरु लुटिएका छन्
श्रद्दा, आस्थाहरु दबिएका छन्
आदर्शहरु अति खोक्रो भएका छन्
सहिष्नुताहरु विचलित बनेका छन्
सहर जीवन्तता बाट विचलित बनि
एउटा बेरूप चित्रमा अनुवाद भएका छन् ।
