रातकी आतमा झकीझकाउ,
आऊ !
स्वर्गकी रानी !
स्वपना–खानी !
मन्त्रमुग्ध छन् प्राणी !
प्रकृतिलाई नश–नश छोई
सपनाऊ
श्रमको अभिशाप परेको पृथ्वी
हिप्नोसिसले सपनिन्छिन् !
विश्रान्ति–विलासका शान्त कुसुमका
कुड्मल सुवासी
मृदु हाँसी
चढिरहेछन् काढाँमा,
तिनका फुल्दा पत्ती टेकी,
दिनको चर्को उज्यालो छेकी,
यथार्थ कटुमा छायाढाली,
विस्मृतिको मृदु मिरमिर डाली
दूरवर्ती डाँडामा,
आऊ निशीथिनी ! रत्नधनी तिमी
गिर्दो तिमिरको मधुरो, मधुरो
बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !
