'तिमी मेरा राजा' भन्थ्यौ, अर्कै राजा छानी गयौ,
उसकै हात समातेर, म बिरानो ठानी गयौ ।
कति राम्रो थियो जीवन, कति रमाइलो थियो !
राम्रा अनि रमाइला, लिई कुराकानी गयौ ।
कुन्नि किन सक्तिनँ म, आफ्नै आँसु लुकाउन !
यी आँखाका आँसुलाई, बर्षातको भेल ठानी गयौ ।
सन्च मानेँ यो गलामा, पासो लगाउँदा पनि,
जाने वेला हाँसीहाँसी, त्यही पासो तानी गयौ ।
त्यही मुहार हेरीहेरी, मनको पियास मेटाउँथे,
आँखै देख्न छाडेँ म त, यी आँखाकी नानी गयौ ।
माया साट्यौँ मुटु साट्यौँ, साटफेर थे'न चीजवस्तुको,
बदलामा छातीभरि, बेगन्ती तिर हानी गयौ ।
बाच्दिनँ म तिमीविना, मेरो जिन्दगानी गयौ ।
