नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए ।
तिनै फाँटिला जमिनमा चर्ने गाइहरु बेलाबेला टाउको उठाउँदै आफ्ना दूधे बाच्छा–बाच्छीहरुको मायाले होला–हवा गर्दै कराउँथे । गाइमा मातृत्वले भरिएको आवाजले मेरो शूण्यताले भरिएको मनलाई तान्यो । म एकैछिन ती गाइहरुको प्रेम मिश्रित आवाजमा अलमलिन्छु ।
महिनौं दिनको तुषारो बल्ल रोकिएको छ । घाम पनि सकेसम्म रापिलो भएको थियो । तुषारोको ओइरोले दिक्दार भएका बोटबिरुवाहरु घामले रापिलो आँतमा घाम ताप्दै जमिन तिरै घोत्लिएका थिए । म तिनै सुनझैं फैलिएका हाँगाको छहारिमा बसेर अलिपर रहेको सिमलको बोटमा रहेका हाडखोडाहरुको गुँडलाई नियालिरहेकी थिएँ । त्यो रुखमा १२–१५ वटा जति हाडखोडा पखेटा फटफटाउँदै वल्लोहाँगा–पल्लोहाँगा गरेको देखिन्छ । त्यही रुखको फेदमा एउटा बूढो हाडखोडा रुखमा चढ्नै नसक्ने भएकोले लुरुलुरु हिँडिरहेका थिए । उसको परिवारका अन्य सदस्यहरु पूmर्तिसाथ रमाइरहेपनि त्यो बूढो हाडखोडा कसैको सहारा नपाएर त्यसै आफ्नो लामो चुच्चो ठकठक गर्दै जमिनमा भौंतारिरहेको थियो ।
