खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाई उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्।
गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पाथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेर्छ्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट
हे आमा बालककी नमार भगवन् ! संसार भर्ने भए।
हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाई खालि मुखमा केही पनी बोल्दिन
"आमा ख्वै ?" भनि वेगले हृदयमा टाँसेर रोउँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पार्यौ विधाता, किन !
आमालाई रिंगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो फस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी।
मेरा चन्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाास्थे जब फूल झैँ नजरको आँसू नसुक्तै पनि
