आकाश धुम्मिएको छ
मान्छे धुम्मिएको छ
कालो बादलले छोपे झैँ
मन धुम्मिएको छ
न पानी परेको छ
न घामै लागेको छ
मनबाट सुरक्षा भागेको छ
कालो कालो छायामा
घुर्मैलो आकृति
यतैतिर आउँदै छ
टाउको छ जस्तो पनि छ
टाउको छैन जस्तो पनि छ
कुमकुममा पिलिक्क बलेका आँखा झैँ
जूनकिरी चाहिँ पक्कै होइन
आकाश धुम्मिएको बेला
के टल्किरहेछ -
तिम्रो आफ्नै इतिहास छ
मेरो आफ्नै इतिहास छ
इतिहासले इतिहास चिनेको छ
तर मान्छेले मान्छे बुझेको छैन
केवल भाषणबाजीले आकाश उघ्रिने छैन
नाराबाजीले दिन सुध्रने छैन
पानी तप्पतप्प चुहिएला जस्तो
हिउँ छप्पछप्प ओइरिएला जस्तो
के हाम्रो आकाश धुम्मिएको हो -
