संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।
निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनित घोषित भयो।
आफू निर्देशक हुनासाथ मान्छेले पाप धर्मको कानुन संशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए।
एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबलमा थ्याच्च बसेर मान्छे गर्ज्यो - "संसार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!"
