एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?
धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाई के चाहिएको त ? सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।
